मनाङकाे तापक्रम माइनस २३ डिग्री, जनजीवन प्रभावित, खाेला, झरना नै जमे

मिलन शर्मा दनाई

बेसीशहर, माघ १५ । हिमालपारीको जिल्ला मनाङ यतिबेला सुनसान जस्तै छ । क्षेत्रफलको हिसाबले ठूलै भए पनि देशकै सबैभन्दा कम जनसंख्या छ मनाङमा । हिउँदमा प्रायः हिउँ परिरहने र कठ्यांग्रिने जाँडो हुने मनाङका बासीन्दा अहिले जाडो छल्न जिल्लाबाट बाहिरिएका छन् ।


खासगरी मनाङको उत्तरी क्षेत्रमा यतिबेला चिसोले जनजीवन प्रभावित छ । माथिल्लो क्षेत्रका खाङसार, टंकी, मनाङ, ङावल, भ्राका, घ्यारु तथा पिसाङ, हुम्डे क्षेत्रमा यतिबेला निकै चिसो बढेको छ । विगतका बर्षहरुमा जस्तो यस बर्ष खासै हिउँ नपरे पनि यी क्षेत्रमा जाडो भने अत्याधिक रहेको छ ।


माथिल्लो मनाङबाहेक मध्यक्षेत्रको चामेमा पनि जनजीवन चिसोले निकै प्रभावित छ । चामे मनाङको सदरमुकाम समेत हो । यहाँ पनि अहिले दिउसो तापक्रम १३ डिग्री सेल्सियसको आसपास रहे पनि मध्यरातपछि माइनस २३ डिग्रीसम्म झर्ने गरेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले बताए ।

चिसोले मनाङको जनजीवन असाध्यै प्रभावित छ । यो समयमा मनाङका अधिकांश बासीन्दा जाडो छल्न मनाङ छोड्छन् । जाडो आवधिभर (मंसिर-फागुन) मनाङ ङिस्याङ र नार र फू क्षेत्रका अधिकांश बासीन्दाले मनाङ छोड्छन् । सदरमुकाम रहेको चामेका ६० प्रतिशत बासीन्दा पनि यतिबेला चिसो छल्न तल्लो क्षेत्रमा झरेका अध्यक्ष घलेले जानकारी दिए ।

मनाङमा उस्तो ठूलो हिउँ नपरे पनि तापक्रम अत्याधिक कम हुँदा ससाना खोला झरना समेत बरफ बनेका छन् । पाइपको पानी जमेर धारामा पानी नै आउँदैन । घरभित्र बाल्टीमा राखेको पानी समेत जम्ने गरेको छ ।

मनाङको माथिल्लो क्षेत्रका तालहरु समेत अत्याधिक चिसोका कारण जमेका छन् ।

हिउँ त्यति नपरेका कारण यसबर्ष मनाङमा यातायात भने सुचारु छ । तर चिसोका कारण पर्यटकको आवागमन समेत न्यून रहेको चामे गाउँपालिका वडा नंं ५ का वडाध्यक्ष कैले गुरुङले बताए ।

अहिले मनाङमा घर कुर्न बसेका केही स्थानीय बृद्धबृद्धा र बालबालिका बाहेक सरकारी कर्मचारी मात्र भेटिन्छन् मनाङमा । ती पनि चिसोका कारण दिउसोबाहेक घरबाहिर निस्कदैनन् । जाडोका कारण घरभित्र आगो वा हिटर तापेर बस्नुको विकल्प नरहेको राष्ट्रिय बाणिज्य बैंक चामे मनाङका प्रबन्धक रञ्जित लामाले बताए ।

जाडोका कारण विद्यालयसमेत बन्द छन् । विकास निर्माणको काम प्रायः ठप्प छ । चिसो बढेपछि नार र फू का प्रहरी चौकी समेत सदरमुकाममा सारिएको छ । नार्पाभूमि गाउँपालिकाले चामे नजिकै कोतो बजारमा अस्थायी कार्यालय राखेर सेवा प्रवाह गरिरहेको छ ।

यो बर्ष गत मंसिरको १८ पहिलो पटक मनाङमा हिउँ परेको थियो । त्यसपछि गत माघ १२ गते पछिल्लो पटक त्यहाँ हिउँ परेको थियो ।


प्रतिक्रिया