फरार रहेका कालिका सहकारीका संस्थापक अध्यक्ष मृगेन्द्र घिमिरे पक्राउ

बेसीशहर, पुस २२ गते । लमजुङको बहुचर्चित कालिका सहकारी ठगी काण्डमा मुख्य दोषी भनिएका संस्थापक अध्यक्ष मृगेन्द्र घिमिरे पक्राउ परेका छन् ।

काठमाण्डौंको धापासीमा लुकीछिपी बसेको अवस्थामा उनलाई प्रहरीले आइतबार दिउसो पक्राउ गरेको हो । सहकारी ठगीमा मुख्य दोषी भनिएकी उनकी श्रीमति विनिता अधिकारी घिमिरे भने अझै फरार छिन् । गएको बडादशैं अगावै उनीहरुबिरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेकोमा उनीहरु फरार रहँदै आएका थिए ।

उनलाई काठमाडौंमा पक्राउ गरिएको बारे जिल्ला प्रहरी कार्यालय लमजुङले पुष्टि गरेको छ । कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाइँले पक्राउ परेका घिमिरेलाई सोमबारसम्म जिल्ला प्रहरी कार्यालयमा ल्याइने जानकारी दिए ।

प्रहरीले मुख्य दोषीलाई भगाई सामान्य र निरपराधहरुलाई पक्राउ गरी कारबाही गरेको आरोप लागिरहेको छ । उनलाई जोगाउन गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसहित केही प्रतिष्ठित ब्यक्तिहरुले समेत प्रहरीलाई दबाब दिएका र उनीहरुको दवाबमा प्रहरीले नै उनलाई भगाएको चर्चा बेसीशहरमा छ ।

सहकारी ठगीको मुद्दामा जिल्ला प्रहरी कार्यालय लमजुङले सहकारी सम्बद्ध ३४ जना विरुद्ध पक्राउ पूर्जी जारी गरेकोमा पहिलो चरणमा ६ जना र त्यसपछि थप १ जना गरी ७ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । रजिष्ट्रारको कार्यालयको छानबीनमा मुख्य दोषी देखाइएकाहरुलाई पक्राउ नगरी सामान्य नसियत दिइएका र प्रतिवेदनमा नामै उल्लेख नभएकाहरुलाई समेत पक्राउ गरी मुद्दा चलाएको भन्दै प्रहरीको आलोचनासमेत भएको थियो ।

त्यतिबेला पक्राउ परेका ७ जना जिल्ला अदालत लमजुङको आदेशमा धरौटीमा रिहा भइसकेका छन् । तर प्रहरीले अहिलेसम्म जाहेरी परेका आरोपित अन्य २७ जनालाई पक्राउ नगरेको भन्दै प्रहरीको आलोचना भइरहेको छ ।

जिल्ला अदालत लमजुङले फरार रहेका २७ जना विरुद्ध पुनः दोस्रो पटक पक्राउ पूर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको म्याद सकिनै लाग्दा प्रहरीले घिमिरेलाई पक्राउ गरेको हो । अदालतले दिएको म्याद बुधवार सकिने बताइएको छ ।

घिमिरेले बिगतमा संस्थामा ब्यापक अनियमितता गरी बचतकर्ताहरुको बचतलाई हिनामिना गरेको पाइएपछि कालिका सहकारी संस्थाको वर्तमान सञ्चालक समितिले संस्थाको बित्तिय अबस्थाको बारेमा विश्लेषण गरीदिन सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशलाई आग्रह गरेको थियो । समितिको आग्रह बमोजिम रजिष्ट्रारको कार्यालयले सहकारीको आर्थिक गतिविधिबारे बिज्ञमार्फत छानबीन गराएको थियो ।

बाग्लुङको ईमेज सहकारीको समेत सफल छानबीन गरी जिल्ला प्रहरी कार्यालय बाग्लुङबाट पुरस्कृत समेत भएका छानबीनकर्ता निर्मल गौतमले कालिका सहकारीको समेत छानबीन गरी राय सहितको प्रतिवेदन रजिष्ट्रारको कार्यालयमा बुझाएका थिए ।

बिज्ञ गौतमको छानवीनमा मृगेन्द्र घिमिरेसहित उनकी श्रीमति विनिता घिमिरेले सहकारी ऐनको गम्भीर उल्लंघन गरी बचतकर्ताहरुको बचतको हिनामिना गरेको र मुलुकी फौज्दारी संहिता आकर्षित हुने गरी काम गरेको भेटिएपछि सहकारी रजिष्ट्रारको कार्यालयले उनीहरुलाई कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई छानवीन प्रतिवेदनसहित पत्राचार गरेको थियो । सिआईबीले उक्त सहकारीका बारेमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय लमजुङलाई छानवीन प्रतिवेदनसमेत पठाएपछि जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरेको हो ।

प्रहरीले उक्त सहकारी ठगीका विषयमा निर्मल गौतमकै प्रतिवेदनलाई आधारित भएर मुद्दा तयार गरेको थियो । जिल्ला न्यायाधिवक्ताको कार्यालयले समेत गौतमकै प्रतिवेदनका आधारमा अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया