बेसीशहर, कार्तिक १३ गते । जिल्ला प्रशासन कार्यालय लमजुङ अझै पनि पञ्चायती शैलीमा सञ्चालन हुने गरेको पाइएको छ । कार्यालयले सेवा प्रवाहमा आमूल परिवर्तन गरी छिटो र छरितो नागरिक मैत्री सेवा दिएको प्रचार गरिए पनि यथार्थ त्यसको विपरित रहेको पुष्टि भएको छ ।
प्रशासनका कर्मचारीहरु सेवाग्राहीलाई सेवा सुविधा दिन भन्दा पनि दुःखै दिन खुशी हुँदा रहेछन् भन्ने कुरा सेवाग्राहीहरुको मुखबाट पटक पटक सुनिदै आएको हो । जिल्ला प्रशासनको सेवाप्रवाहमा निकै सुधार भएको र जनताको काम विना झञ्झट फटाफट गर्ने गरिएको बताउने गरिए पनि यथार्थ त्यो भन्दा निकै पर रहेको पुष्टि कार्तिक ११ गते भएको हो । जनताको हितमा काम चुस्त र दुरुस्त भएको र विना झञ्झट फटाफट काम हुने गरेको भन्ने त्यस कार्यालयको प्रचारबाजी फगत सस्तो लोकप्रियता कमाउनका लागि मात्रै भएको छर्लङ्गै देखिएको छ ।
जिल्ला प्रशासन कार्यालयले कार्यालयको सेवा प्रवाहमा ब्यापक सुधार गरि सेवाग्राहीले विना कुनै झञ्जट एकै झ्यालबाट सेवा पाउने भनि बाराम्बार प्रचार गर्ने गरेको छ । प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ बिभिन्न कार्यक्रमहरुमा आफ्नो कार्यालयमा फटाफट काम हुने, नागरिकताको आवेदन पेश मात्रै गर्नुपर्ने, बाँकी काम कर्मचारीले गरेर कमसेकम समयमा फाँटकै झ्यालबाटै नागरिकता बितरण हुन्छ भनि भाषण गर्ने गर्छन् । तर उनकै कार्यालयमा सेवाग्राहीले पाउने हैरानीबारे उनी बेखबर छन् ।
जिल्ला प्रशासन पुग्ने सेवाग्राही अझै पनि भने अनुसारको सेवा नपाएको गुनासो ्गर्छन् । पञ्चायतकालमा झै अझै पनि एउटा नागरिकता बनाउन सेवाग्राहीहरुले दिनभर जिल्ला प्रशासन कार्यालयमा विताउनु पर्दा उनीहरुको मुखबाट प्रशासन कार्यालयका हाकिमहरुका बारेमा निस्किएका शब्द समाचारमा बयान गरिसाध्यै छैन ।
जिल्ला प्रशासनमा तल्लो तहका कर्मचारी मौरीघारका मौरी झै काम गरिरहेका भेटिन्छन् । तर माथिल्लो तहका अधिकृत, सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख जिल्ला अधिकारीले कार्यालयको भीडभाड, सेवाग्राहीका समस्याका बारेमा अनदेखा गरिदिँदा सेवाग्राहीहरुले सास्ती खेप्नु परेको आइतबार खुलासा भएको छ ।
जनतालाई छिटो छरितो सेवा दिन कार्यालयका कर्मचारीहरुको कामको रेखदेख गरी आवश्यक निर्देशन दिनुपर्नेमा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी कार्यालयको १ नम्बर कोठामा अनावश्यक गफ गरेर बसिरहेको भेटिन्छ । कहिले त विभिन्न कार्यालयका प्रमुखहरुसंग गफ गरेर समय विताउने गर्दा सेवाग्राहीहरु भने उनीहरुको एउटा हस्ताक्षरका लागि दिनभर कुर्नुपर्ने बाध्यता छ ।
जिल्ला प्रशासन जनताको भीडभाड हुने कार्यालय हो । जिल्लाको शान्ति सुरक्षा र अमनचयन कायम गराउने यो कार्यालयमा सधैंजसो नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र र अन्य प्रशासनिक काम लिन धेरै सेवाग्राही आउँछन् । अन्यफाँटमा त्यति गुनासो नसुनिए पनि नागरिकता फाँटमा सेवाग्राहीहरुका गुनासै गुनासा छन् । एउटा नागरिकता बनाउन दिनभर कार्यालयमा बस्नु परेपछि सेवाग्राहीहरुले पञ्चायतकालको जिल्ला प्रशासनलाई सम्झिरहेको भान हुन्छ ।
विगतमा नागरिकता लिनका लागि सेवाग्राहीले कार्यालयका विभिन्न कोठा धाउनुपर्ने, आफैले नागरिकताको ढड्डा बोकेर माथिल्लो तलामा हाकिमको कोठामा जानुपर्ने, अनावश्यक केरकार सुन्नुपर्ने, झञ्जट रहेकोमा त्यस्तो झञ्झटको अन्त्य गर्न एकै कोठाबाट छिटोछरितो नागरिकता वितरण गर्ने ब्यवस्था मिलाउने भन्दै नागरिकताको सबै काम एउटै कोठाबाट गराउने ब्यवस्था मिलाइएको भनिएको थियो । यो ब्यवस्था अनुसार केही दिन फटाफट काम भएजस्तो पनि भयो । तर विस्तारै कार्यालय पुरानै ढर्रामा चल्न थालेको छ ।
एउटा नागरिकले सबै आवश्यक प्रक्रिया पुरा गरेपछि केही समयमै नागरिकता पाउनु पर्ने हो । एकै कोठाबाट नागरिकताको सबै काम हुने भएपछि नागरिकता वितरणमा समस्या पनि नहुनुपर्नेमा बिहान ११ बजे कार्यालयमा कागजात पेश गरेको ब्यक्तिले बेलुकी ४ बजे मात्र नागरिकता पाएको घटना कार्तिक ११ गते आइतबार मात्रै पटाक्षेप भएको छ ।
सदाझैं कार्तिक ११ गते आइतबार पनि जिल्ला प्रशासनको नागरिकता फाँटमा निकै भीड थियो । नागरिकता बनाउन टाढा टाढाबाट आएका सेवाग्राहीहरु कार्यालयको नागरिकता फाँटको झ्यालमा लामबद्ध थिए । दिउसोको तीन बजिसक्दा समेत बिहान ११ बजे नागरिकता बनाउन आइपुगेका सेवाग्राही लाइनमा बसेका भेटिए ।
तीमध्ये क्व्होंलसोंथार गाउँपालिका वडा नंं ९ बाट नागरिकता बनाउन आएका सन्दिप वि.क. लाइनमा उभिँदा उभिँदा खुट्टा गलेको भन्दै लाइन छोडेर बेञ्चमा थपक्क बसेका भेटिए । उनलाई सहयोग गर्न आएकी उनकी दिदी नाताकी माइली वि.क. पनि बिहान छोरीलाई स्कूल छोडेर आएको र अहिले लिन जाने बेला हुँदा पनि भाइको नागरिकता नबनेको भन्दै दिक्दारी पोख्दै गरेको भेटिइन् । अरु धेरै सेवाग्राही काम ढिलो भएको गुनासो गरिरहेका थिए । तर उनीहरु खुलेर बोल्न भने चाहेनन् ।
नागरिकता फाँटमै नागरिकतामा हस्ताक्षर गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी बस्ने ब्यवस्था मिलाइएको भनिए पनि सहायक प्रमुख जिल्ला अधिकारी त्यहाँ थिएनन् । उनी प्रजिअको कार्यकक्षमा गफमा मस्त थिए । बाहिर सेवाग्राहीहरु कहिले यता कहिले उता गरि छटपटी गर्दै रहेका भेटिन्थे । फाँटवाला कर्मचारीहरु लाचार थिए, सेवाग्राहीका गुनासा सुन्दै आफ्नो काम गरिरहेका थिए । सबै काम सकेर नागरिकतामा हाकिमको सहीमात्र बाँकी रहेको भन्दै थुप्रै सेवाग्राहीले हल्ला गर्न थालेपछि अन्ततः एक जना कर्मचारीले माथिल्लो तलाको २ नम्बर कोठामा गएर नागरिकतामा सही गराउन भने । सेवाग्राहीहरु ढड्डा आफै बोकेर सहायक प्रमुख जिल्ला अधिकारीको कक्षतर्फ लागेका थिए । तर बिडम्बना, सहायक प्रमुख जिल्ला अधिकारी आफ्नो कक्षमा थिएनन् ।
नागरिकताको काम सकेर राष्ट्रिय परिचयपत्रको फारम भर्ने कोठामा पनि सेवाग्राहीको लाम लागिसकेको थियो । दिउसो ३.१५ बजे सम्बन्धित फाँटवाला कर्मचारी बस्ने कुर्सी खाली थियो । सेवाग्राहीको लस्कर झ्यालमा थुप्रिएपछि राहदानी फाँटका नायब सुब्बा अशोक भण्डारीले सेवाग्राहीहरुलाई बोलाएर परिचयपत्रको फारम भरिदिएका थिए ।
जिल्ला प्रशासन कार्यालय जिल्लामा संघीय सरकारको प्रतिनिधि हो । संघीय सरकारको महत्वपूर्ण जिम्मेवारी लिएर जिल्लामा रही सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाई जनतालाई सुशासनको प्रत्याभूति दिनुपर्ने कार्यालयको यो हालले नागरिकले सुशासनको अपेक्षा गर्नु बेकार रहेको आइतबार एकै दिनको दृष्यले प्रष्ट पारिदिएको छ ।