बेसीशहर, पुस २३ गते । लमजुङमा उद्याेगी ब्यवसायीहरूकाे साझा संस्था लमजुङ उद्याेग बाणिज्य संघमा दुइ दशकपछि सर्वसम्मत नेतृत्व चयनकाे प्रयास गरिएकाे छ ।
अबकाे नयाँ कार्यकालका लागि यही पुस २६ गते संस्थाकाे स्थापना दिवसका अवसरमा नयाँ नेतृत्व चयनका लागि साधारणसभासहित अधिवेशनकाे तयारी गरेकाे संघले त्यस अगावै नेतृत्वका लागि सर्बसम्मति जुटाए पछि दुइ दशकसम्म नेतृत्वका लागि हुने तँछाडमछाडकाे अन्त्य भएकाे हाे ।
सहमति अनुसार संघकाे नयाँ अध्यक्षमा भरतकुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा विकास श्रेष्ठ, द्वितीय उपाध्यक्षमा कृष्णजंग गुरूङ, तृतीय उपाध्यक्षमा प्रदीप बस्नेत र सदस्यहरूमा बिपिन श्रेष्ठ, मानकृष्ण आचार्य, भरतबहादुर विष्ट, भवानी रिमाल र पुष्पकला मिश्र चयन भएका छन् । यी बाहेक हरेक इकाइका अध्यक्षहरू संघकाे कार्यसमितिका पदेन सदस्य रहने विधनमा ब्यवस्था छ । संघमा वस्तुगत संघबाट, र एशाेसियटबाट १ जना र महिला उद्यमी विकास समितिकाे १ जनासमेत कार्यसमितिमा सहभागिता रहने ब्यवस्था छ ।
सहमति अनुसार अध्यक्ष, द्वितीय उपाध्यक्ष, तृतीय उपाध्यक्ष र तीन सदस्य कांग्रेसले लिएकाे छ । प्रथम उपाध्यक्षसहित दुइ सदस्य एमालेले लिएकाे छ । समितिबाट मनाेनित हुने दुइ जना र एसाेसियट एबं वस्तुगत संघ र महिला उद्यमी विकास समितिबाट पनि दलीय भागवण्डा मिलाउने तयारी भएकाे बुझिएकाे छ । हालसम्म माओवादी केन्द्रले भने भाग पाएकाे छैन ।
संघकाे इकाइ अधिवेशन शुरू हुनु अगावैदेखि नै सर्बसम्मतिकाे प्रयास भए अनुसार सबै इकाइहरूमा सर्वसम्मत रूपमा अध्यक्षलगायत इकाइ पदाधिकारी र सदस्यहरू छानिएका थिए । लमजुङका ८ पालिकामा ८ इकाइसहित बेसीशहर, सुन्दरबजार र मध्यनेपालमा थप १/१ वटा इकाइ छन् । बेसीशहर नगरपालिकामा बेसीशहर र उदीपुर, सुन्दरबजार नगरपालिकामा सुन्दरबजार र भाेटेओडार तथा मध्यनेपाल नगरपालिकामा भाेर्लेटार र दुइपिप्ले गरी दुइ इकाइ छन् । यी सबै इकाइहरूमा सर्वसम्मत नेतृत्व चयन गरिएपछि जिल्ला संघमा पनि सर्वसम्मतिकाे वातावरण बनेकाे हाे ।
यस अघि नेपाली कांग्रेस र नेकपा एमालेबीच नेतृत्वमा कडा टक्कर हुने गरेकाे थियाे । केही बर्ष यता नेतृत्व चयनमा नेकपा माओवादी केन्द्रकाे समेत भूमिका रहँदै अायाे । कहिले एमालेसंग त कहिले कांग्रेससंग मिलेर माओवादीले नेतृत्व चयनका लागि भूमिका खेल्दै संघमा उपस्थिति समेत जनाउँदै आएकाे थियाे ।
ब्यवसायीक हकहितका लागि काम गर्नु पर्ने संस्थामा नेतृत्व हत्याउनका लागि अस्वस्थ प्रतिस्पर्धा हुने र राजनीति हावी हुँदा संघकाे मर्म र भावना अनुसार काम हुन नसकेकाे तीताे यथार्थबीच यसपटक संघकाे नेतृत्वका लागि सर्वसम्मत नेतृत्व चयन गरिनुलाइ ब्यवसायीहरूले राम्राे कामकाे शुरूवात भएकाे बताएका छन् । यसका लागि वर्तमान अध्यक्ष गुणराज सिलवाललाइ धन्यवाद दिनेहरू धेरै छन् । यद्यपी नेतृत्व चयन गर्दा पर्यप्त छलफल नगरिएकाे भन्दै नेतृत्वकाे ओलाेचनासमेत भएकाे छ ।