लमजुङको व्यावसायिक केन्द्र सुन्दरबजारमा लगानीकर्ता सचेतना कार्यक्रम

खबरकुञ्ज

सुन्दरबजार, कार्तिक १२ । लमजुङको व्यावसायिक एबम शैक्षिक केन्द्र सुन्दरबजारमा लगानीकर्ता सचेतना कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

रिलायबल नेपाल  लाइफ इन्स्योरेन्स लिमिटेडको सहायक कम्पनी रिलायबल इन्भेस्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेड काठमाडौको आयोजनामा मातृभुमी बहुमुखी क्याम्पसको सभाहलमा कार्यक्रम भएको हो । 

कार्यक्रमको प्रमुख अतिथि सुन्दर वजार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जयराम रेग्मीले लमजुङ जलविद्युतको केन्द्र भएकोले शेयर बजार सम्बन्धि जानकारी दिन आयोजना गरिएको कार्यक्रम समय सापेक्ष रहेको भन्दै यस्ता कार्यक्रमले सर्वसाधारणलाई फाइदा पुग्ने बताए । उनले यस्ता कार्यक्रम एक दिनमात्र नभएर कम्तिमा तीन दिने गर्न आयोजकलाई सुझाव दिँदै उनले यस्ता कार्यक्रमबाट जनचेतना समेत पुग्ने हुँदा वडा कार्यालयबाट पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सहजीकरण गर्दै रिलायबल इन्भेस्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेडका सिए माधव पोख्रेलले क्यापिटलको बिबिध बिषयमा जानकारी दिदै सहभागी लगानीकर्ता, ब्यबसायी, प्राध्यापक, कर्मचारी, जनप्रतिनिधि, बिद्यार्थीलाई आईपिओ, एफपिओ, प्राथमिक बजार, सेकण्डरी बजार, नेप्से, धितोपत्र बोर्ड, शेयर बजार र लगानी शिक्षा तथा लगानी गर्दा अपनाउनु पर्ने सचेतनालगायत  विविध बिषयमा जानकारी गराउँदै सहभागीहरुले राखेका जिज्ञासाको जवाफ दिएका थिए ।

कार्यक्रममा सुन्दरबजार चेम्बर अफ कमर्शका अध्यक्ष विष्णुकुमार श्रेष्ठले मध्य पहाडी लोकमार्ग र डुम्रे बेशिसहर राजमार्गको केन्द्र  सुन्दरबजारलाई व्यावसायिक केन्द्र बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउदै क्यापिटलको शाखा सुन्दर बजारमा स्थापना गर्न अनुरोध गरे । 

विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसर पारी रिलायबल इन्भेस्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल  लिमिटेडले एक दिने लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको क्यापिटलका चार्टर एकाउन्टेन्ट माधब पोख्रेलले बताए ।

सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णुकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उक्त क्यापिटलका लिगल अफिसर अधिवक्ता सुदर्शन जोशीले सञ्चालन गरेका थिए । 

रिलायबल क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी ब्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभूति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्वन्धि सम्बन्धी सेवा प्रदान गर्दै आएको सो अवसरमा जानकारी गराइएको थियो ।


प्रतिक्रिया