बेसीशहर, कालिका सहकारी ठगी प्रकरणमा सञ्चालक विरुद्ध जाहेरी दिने तैमाया गुरुङ विरुद्ध नै जिल्ला प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ ।
कालिका सहकारी एकीकरण पुर्व साविक सम्पदा सहकारीको संचालक समिति सदस्य रहेकी तैमाया गुरुङ एकीकरण पश्चात बनेको समितिमा समेत महिला समितिमा बसी काम गरेकी थिइन् । जिल्ला प्रहरी कार्यालयमा वचतकर्ताहरुले उनी विरुद्ध समेत जाहेरी निवेदन दिएपछि प्रहरीले उनी विरुद्ध समेत पक्राउ पुर्जी जारी गरेको हो । प्रहरीले पुर्जी जारी गरे लगतै उनी फारार भएकी छन् ।
जिल्ला अदालत लमजुङले तैमाया गुरुङ समेत २६ जनालाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई गत शुक्रबार अनुमति दिएको थियो ।
त्यसपछि प्रहरीले कालिका सहकारीका संचालक सदस्य हरिबाबु थापालाई शनिबार राती पक्राउ गरेको थियो । पक्राउपुर्जी जारी भएका अन्य संचालक तथा पुर्व संचालकहरु भने अझै फरार छन् ।
प्रहरीले पहिलो चरणमा सहकारीका अध्यक्ष लगायका पदाधिकारी, पुर्वअध्यक्ष र केही सदस्य १० गते घरबाटै नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
सहकारीमा समस्या उत्पन्न भई वचतफिर्ता गर्न नसकेपछि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशले विज्ञ खटाई छानवीन गरेको थियो । छानविनका क्रममा संस्थाका संस्थापक अध्यक्ष मृगेन्द्र घिमिरे, उनकी श्रीमति तथा पूर्व व्यवस्थापक र हाल संस्थाको कोषाध्यक्ष समेत रहेकी बिनिता घिमिरेलाई मुख्य दोषी ठहर गरेको बताईन्छ ।