नेपाली कांग्रेस लमजुङकी नेतृ छुपीमाया गुरुङको निधन

खबरकुञ्ज

बेसीशहर, असोज २२ गते । नेपाली कांग्रेस लमजुङकी नेतृ तथा दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष छुपीमाया गुरुङको गएराती निधन भएको छ ।

क्यान्सरको बिरामी रहेकी गुरुङको ६० बर्षको उमेरमा गएराती ३ बजे निधन भएको हो । लामो समयदेखि क्यान्सरको उपचार गराइरहेकी उनी उपचार पछि निको समेत भएकीमा पुनः उनलाई दोस्रो पटक क्यान्सर देखिएको  थियो । रोगले च्यापेपछि हिजो पुनः उनलाई उपचारका लागि चितवन लैजाँदै गर्दा गएराती ३ बजे उनको बाटोमा मृत्यु भएको बताइएको छ ।  

स्वर्गिय गुरुङ लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिइन् । पार्टीको  विभिन्न जिम्मेवारी सम्हाल्दै हाल उनी महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र गण्डकी प्रदेश कार्य समितिको सदस्यको रुपमा कार्यरत थिइन् । 

दूधपोखरी गाउँपालिकाको वडा नंं ५ कोल्की निवासी गुरुङले २०७४ देखि २०७९ सम्म दूधपोखरीकी गाउँपालिकाको अध्यक्षको रुपमा सेवा गरिन् । अत्यन्त सरल, सहयोगी र मृदुभाषी गुरुङ जीवनभर अविवाहित रहिन् ।

नेपाली कांग्रेस लमजुङले गुरुङको निधनमा गहिरो शोक प्रकट गरेको छ । उनको निधनले पार्टीले  एक होनाहार कृयाशील महिला नेतृ गुमाएको नेपाली कांग्रेस लमजुङका सचिव बिमल श्रेष्ठले बताए । 

सचिव श्रेष्ठले स्वर्गिय गुरुङले पार्टी र समाजका लागि पु¥याएको योगदानलाइ पार्टीले उच्च सम्मान गर्ने बताए ।


प्रतिक्रिया