लमजुङमा आजबाट जिल्लामै उत्पादित विद्युत वितरण हुने

खबरकुञ्ज

बेसीशहर, कार्तिक २५ गते । लमजुङमा आजबाट जिल्लामै उत्पादित विद्युत वितरण हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले आज दिउसो ४ बजेदेखि दलालस्थित २२०÷१३२÷३३ के.भि. सबस्टेशनबाट जिल्लामा विद्युत वितरण गर्न लागेको हो ।

गएको बडादशैं अगाडि नै दलाल सबस्टेशनबाट विद्युत वितरण गर्ने तयारी भए पनि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले निरीक्षण गरेपछि मात्र वितरण गर्ने भनि रोकेपछि दशैं अगाडि यो काम हुन सकेको थिएन । केही दिन अघि कार्यकारी निर्देशक घिसिङले सबस्टेशन लगायत लमजुङका विद्युत प्रसारण लाईनको निरीक्षण गरी आवश्यक निर्देशन दिए पछि आजबाट उदीपुर सबस्टेशनबाट विद्युत वितरण गर्न लागिएको लमजुङ वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईले जानकारी दिए ।

लमजुङमा हालसम्म दमौलीबाट आउने ३३ केभि प्रसारण लाइनबाट विद्युत वितरण हुँदै आएको थियो । दमौलीबाट वितरण हुँदा अन्यत्र समस्या आउँदा लमजुङमा विद्युत अबरुद्ध हुने गरेको थियो । अन्यत्र भएको लाइनमा दमौलीदेखि उदीपुरसम्म समस्या आउँदा जिल्लामा विद्युत प्रसारणमा अबरोध आउने गरेकोमा अब अन्यत्र विद्युत प्रसारणमा समस्या भए पनि लमजुङमै समस्या आएमा बाहेक विद्युत आपूर्ति बन्द हुने छैन । 

केन्द्र प्रमुख भट्टराईले भने– अहिलेसम्म दमौलीको लाइनका कारण लमजुङमा धेरै डिस्टर्व थियो । अब यहीँको विद्युत जडान गरेपछि विद्युत ट्रिपिङ हुने समस्या धेरै हदसम्म न्यूनिकरण हुन्छ ।

उनका अनुसार घिसिङको लमजुङ भ्रमणपछि उदीपुरदेखि मार्कीचोकसम्मको २२० केभि प्रसारण लाइनमा रहेको ओभरलोडको समेत ब्यवस्थापन गरिएको छ ।

लाइन परिक्षणका क्रममा आज दिउसो करिब १ घन्टा जिल्ला भरको लाइन अनियमित हुन सक्ने जानकारी केन्द्रले दिएको छ ।

लामो समयदेखि लमजुङमा उत्पादित विद्युत नै जिल्लामा वितरण गर्न माग हुँदै आएको थियो । लामो प्रतीक्षा पछि जिल्लाबासिको माग बमोजिम अब लम्जुङ जिल्लामा उत्पादित विद्युतबाट नै लम्जुङ जिल्लामा सप्लाइ हुने भए पछि उपभोक्ताहरु खुशी भएका छन् । 


प्रतिक्रिया