महाशिवरात्रीका अबसरमा इशानेश्वर महादेव मन्दिरमा भक्तजनकाे भीड

मिलन शर्मा दनाई

करापुटार, फागुन २५ गते । आज फाल्गुण कृष्ण चतुर्दशी अर्थात महाशिवरात्री । आजकै दिन देवादिदेव महादेवकाे उत्पति भएकाे मानिन्छ ।

महाशिवरात्री हिन्दु धर्मावलम्बीहरुको महान चाड हो । भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामका चार प्रमुख रात्री मध्ये एक पवित्र पर्वका रूपमा बिभिन्न पुराणहरूमा वर्णित छ। फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष (छिटै खुसी हुने) भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ।

व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरि व्रत बस्ने र भगवान् शिवका प्रिय बस्तुहरू बेलपत्र, दूध र धतुराे चढाउने गर्छन् ।

महाशिवरात्रीकाे अवसरमा काठमाडाैंकाे पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरहरूमा भक्तजनकाे ठूलाे भीड लागेकाे छ ।

दाेस्राे पशुपतिनाथ भनेर चिनिने लमजुङको मध्यनेपाल नगरपालिका– ७ करापुटारमा रहेको इशानेश्वर (सन्तानेश्वर) महादेव मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ । इशानेश्वर महादेव मन्दिर काठमाडौंको पशुपतिनाथ पछिको धेरै भक्तजनहरुको घुइँचो लाग्ने पवित्र तिर्थस्थल हो । यस मन्दिरमा शुक्रबार बिहानैदेखि भक्तजनहैका ठूलाे भीड छ । याे समाचार तयार पार्दासम्म इशानेश्वर मन्दिर परिसरमा एकलाख भन्दा बढी भक्तजनकाे भीड लागेकाे छ ।

इशानेश्वर महादेवलाई सन्तानेश्वर महादेवको रूपमा पनि पुज्ने चलन छ । इशानेश्वर महादेवको दर्शन गरी पूजा अर्चना गरेमा सन्तान प्राप्त हुने विश्वास गरिन्छ । यस मन्दिरमा भक्तिपूर्वक ठाडाेबत्ती बाल्दा निःसन्तानलाइ सन्तान हुने र छाेराकाे कामना गर्नेले छाेरा पाउने विश्वास गरिन्छ ।


प्रत्येक वर्ष महाशिवरात्रि पर्वका अवसरमा यस मन्दिरमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने गरेको मन्दिर क्षेत्र विकास समितिका सचिव शंकरराज घिमिरेले बताए । उनले भने ‘शिवरात्रिमा ठाडो बत्ती बाले सन्तान प्राप्ति हुने विश्वासका साथ भक्तजनहरू त्यहाँ आउने गर्छन् र भक्तजनहरूकाे ब्यवस्थापन मुख्य चुनाैति हुने गर्छ ।’ 


मन्दिरमा लमजुङसहित काठमाडौं, पोखरा, गाेरखा, चितवन, तनहुँ, पर्वत, स्याङ्जा, बाग्लुङ, पर्बत, विभिन्न जिल्लाबाट हजारौँकाे संख्यामा भक्तजन लमजुङको करापुटार । यसबहेक भारतबाट पनि धेरै भक्तजन यहाँ आउने गर्छन् ।


यस बर्ष करापुटारमा धार्मिक एबं सांस्कृतिक महाेत्सब समेत शुरू भएकाे छ । मन्दिर परिसरमा शिबमहापुराण, सामुहिक ब्रतबन्ध लगायत अनुष्ठानहरू भइरहेका छन् । मन्दिरवरपर मदिरा र मासुजन्य परिकार बेचबिखनमा पूर्ण रूपले रोक लगाइएको छ ।महाेत्सबकाे  सुरक्षाका लागि दुइसय बढी सुरक्षाकर्मी परिचालन गरिएकाे छ ।

तस्वीरहरू साैजन्यः सुरज गुरूङ

प्रतिक्रिया