बेसीहर, असोज १७ गते । मर्स्याङदी गाउँपालिकाको खुदीबजारमा दशैं लक्षित कृषि तथा पशु हाटबजार र रैथाने परिकारको मेला शुरु भएको छ । बिहीबारबाट शुरु भएको हाटबजार र मेला शनिबार सम्म सञ्चालन हुने छ ।
खुदीको कृषि सेवा केन्द्रमा शुरु भएकोे हाटबजारको पहिलो दिन स्थानीय किसान र उपभोक्ताहरुको उल्लेख्य सहभागिता रह्यो । दशैंसंग सम्बन्धित कृषि तथा पशुमेला भएकाले खसीबोका खरिद गर्न टाढा टाढाबाट मानिसहरु त्यहाँ पुगेका थिए । हाटबजारको पहिलो दिन नै २२ वटा खसीबोका बिक्री भएका र ५ लाख भन्दा बढीको कारोबार भएको छ ।
हाटबजारमा खसीबोकाका साथमा स्थानीयस्तरमा उत्पादित तरकारी तथा फलफूल बिक्रीका लागि ल्याइएको थियो ।
मर्स्याङदी गाउँपालिकाको सहयोगमा स्थानीय वस्तुहरुको बजारिकरणका लागि दशैंको अवसरमा गाउँपालिकामै पहिलो पटक कृषि हाटबजार मेला सञ्चालन गरिएको र यसबाट स्थानीय किसान र उपभोक्ताहरु लाभान्वित भएका गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।
हाटबजारमा तरकारी तथा फलफूलको समेत राम्रो ब्यापार भएको छ । फलफूलमा ड्रागन फ्रुट, काँक्रो, केरा, निबुवा, कागति र तरकारीमा साग, टमाटर, ध्यु सिमी उल्लेख्य मात्रामा खरिद बिक्री भएको थियो ।
हाटबजार ब्यवस्थापन समितिका सदस्य तथा मर्स्याङदी कृषि फर्मका सञ्चालक नवीनराज कुइँकेलले हाटबजारमा घनपोखरा कृषि सहकारीबाट उत्पादित कागुनोको चामल, नायूँ तथा घुसिङमा उत्पादन भएको रैथाने चियापत्ती, मोहीको रोटी, अमिलो, घरमौरी तथा भीर मौरीको मह, अकबरे खुर्सानीकाे अचार, माेही राम्रो बिक्री भएको बताए ।
बिहीबारको मेलामा रैथाने स्वादका कोदोको ममः कागुनोको खीर थप आकर्षण रहेको थियो, जसलाई उपभोक्ताले खुब मन पराएका थिए ।
हाटबजारमा कृषि उपजका साथमा हस्तकलाका सामग्रीहरु समेत बिक्रीका लागि ल्याइएका थिए ।
मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले भने– “यो शुरुवात हो, यसलाई ब्यवथित गर्दै छौ्र । यो हाटबजार सकिएपछि यसको कस्तो प्रभाव रहन्छ, त्यो हेरेर साप्ताहिक, पाक्षिक वा मासिक रुपमा कसरी सञ्चालन गर्न सकिन्छ त्यसै गछौं ।”