बडादशैं सुरु, घरघरमा बिधिपूर्वक घटस्थापना गरिदैं

खबरकुञ्ज

लमजुङ, असोज १७ । हिन्दूहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । बडादशैंको पहिलो दिन आज घरघरमा बिधिपूर्वक घटस्थापना गरि नवरात्र मनाइँदैंछ ।

हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म धूमधामका साथ बडादशैं मनाउने चलन छ । यस पर्वमा मीठो मसिनो खाने, राम्रो लगाउने र आफू भन्दा ठूला मान्यजनको हातबाट दुर्गा भवानीको प्रसादको रुपमा टीका जमरा ग्रहण गरी आशीर्वाद लिने गरिन्छ ।

बडादशैंको पहिलो दिन वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आज घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा शुभ रहेको छ ।

घटस्थापना गर्दा गाईको गोबरले लिपपोत गरिएको दशैं घरमा पवित्र नदी वा तुलसी मठबाट  बालुवा अथवा माटो ल्याई जौ छरेर पवित्र बनाइन्छ । यही पवित्र स्थानमा माटो वा तामाको घडामा पानी भरि वर पिपल र आँपका पात राखी नरिवल राखेर घटस्थापना गरिन्छ । दशैंघरमा दुर्गा स्थापना गरि माटो र वालुवामा विधिपूर्वक जौ र मकैका जमरा राखिन्छ । जमरा राख्दा घरका कुलाइनलाई समेत छुट्टै राखिन्छ । जमरा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका र प्रसादसहित ग्रहण गरिन्छ । जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ ।

आजको दिन विधिपूर्वक घडा स्थापना गरि शक्तिकी देवी दुर्गाको विधिपूर्वक पूजा अर्चना शुरु हुने भएकाले घटस्थापना भनिएको हो । आज स्थापना गरिएको घडाको जललाई विजय दशर्मीमा अभिषेक गरी टीका ग्रहण गर्ने चलन छ ।

घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् स्तुतिको पाठ गरिन्छ । 

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा बडादशैं मनाउने चलन वैदिक कालदेखि शुरु भएको मानिन्छ । सत्ययुगमा देवी दुर्गाले महिषासुर राक्षसको बध गर्नका लागि नौवटा अवतार लिएकाले उनै देवीका नौवटा अवतारको नवरात्रमा पूजा गर्ने चलन बसेको मानिन्छ ।

यस वर्षको दशैंको टीका असोज २६ गते परेको छ । यस बर्ष टीकाको शुभ साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पाञ्चाङ्ग निर्णयक समितिले जनाएको छ ।


प्रतिक्रिया