बेसीशहर, कार्तिक २६ गते । हिन्दूहरुको पवित्र पर्व हरिबोधनी एकादशीको अवसरमा लमजुङका विभिन्न स्थानीय निकायहरुले सार्वजनिक बिदा दिएका छन् ।
चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङ जिल्लामा मस्र्याङदी गाउँपालिका, राईनास नगरपालिका, सुन्दरबजार नगरपालिका, मध्यनेपाल नगरपालिका र दूधपोखरी गाउँपालिकाले स्थानीय धार्मिकस्थलमा लाग्ने धार्मिक मेलाका लागि सार्वजनिक बिदा दिएका हुन् ।
मस्र्याङदी गाउँपालिकाले हरिबोधनी एकादशीका अवसरमा पालिकाभित्र विभिन्न मेला र महोत्सव नै आयोजना गरेको छ । एकादशी मेलाका अवसरमा परम्परादेखि नै सो पालिकाको वडा नंं ३ खुदीबेनीमा ठूलो मेला लाग्ने गरेकोमा गत बर्षदेखि पालिकाले मेलालाई महोत्सवको रुपमा मनाउन थालेको छ । यस बर्ष पनि दोस्रो महोत्सव आयोजना गरिएको छ । यस अवसरमा २७ र २८ कार्तिकमा खुदीबेनीमा महोत्सव आयोजना गरिएको छ ।
खुदीमा हुने एकादशी मेलामा विभिन्न स्थानबाट बाजागाजाका साथ फूलको डोली तारिन्छ । यस अन्तर्गत आयोजना हुने सांगितिक कार्यक्रममा मंगलबार चर्चित लोकदोहोरी गायिका सम्झना भण्डारी खुदी आउँदै छन् ।
मस्र्याङदी महोत्सव अन्तर्गत मस्र्याङदी गाउँ पालिकाको वडा नं. ४ जगतमा तातोपानी जगत महोत्सव आयोजना गरिएको छ । यही कार्तिक २९ गते जगतमा रहेको तातोपानी कुण्डको संरक्षण सम्बद्र्धन र प्रचार प्रसारका लागि यो महोत्सव गर्न लागिएको हो ।
पालिकाले कार्तिक ३० गते पालिकाका विभिन्न स्थानमा महोत्सवकै रुपमा भीरमौरीको मह शिकार गर्ने कार्यक्रम राखेको छ । यस अन्तर्गत वडा नंं ४ को मिप्रा, वडा नंं २ को घनपोखरा, वडा नंं ५ को घेर्मु र वडा नंं ६ को बाहुनडाँडाका विभिन्न भीरमा भीरमौरीको मह काढ्ने महोत्सव आयोजना गरेको छ ।
यसैगरि मंसिर १ गते मस्र्याङदी गाउँपालिकाका विभिन्न आकर्षक झरनाहरुमा महोत्सव आयोजना गरिएको छ । वडा नंं ४ को स्यांगे झरना, अक्टोपस झरना र वडा नंं ५ मा पर्ने बुङ झरनामा महोत्सव आयोजना गरिएको पालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए ।
अध्यक्ष गुरुङका अनुसार पालिकाका यी स्थान धार्मिक, प्राकृतिक र पर्यटकीय महत्वका भएकाले यिनको संरक्षण सम्बन्द्र्धन र प्रचार प्रसार गरी समृद्ध पालिका निर्माण गरी आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धन गर्न महोत्सव आयोजना गरिएको हो । यस क्रममा पालिकाभित्रका विभिन्न पर्यटकीय गाउँमा सञ्चालनमा आएका होमस्टेको प्रबद्र्धनका लागि होमस्टे प्याकेजसमेत बनाइएको छ ।
यता सुन्दरबजार नगरपालिकाले पनि हरिबोधनी एकादशीका अवसरमा सार्वजनिक विदा दिएको छ । सुन्दरबजारको वडढा नं. ७ पाउँदीमा हरिबोधनी एकादशीको भब्य मेला लाग्छ । पाउँदीको सिद्धेश्वर महादेव मन्दिरमा लमजुङबाहेक तनहूँ र गोरखादेखिका भक्तजन आउने गर्छन् । हाल यस स्थानमा १०८ फिट अग्लो महादेवको मूर्ति स्थापना गरिएको छ । हरिबोधनी एकादशीकै अवसरमा मंगलबार यो मूर्तिसमेत उद्घाटन हुने छ ।
मध्यनेपाल नगरपालिकाले पनि हरिबोधनी एकादशीमा सार्वजनिक विदा दिएको छ । हरिबोधनी एकादशीमा मध्यनेपालका विभिन्न भागमा मेला लाग्छ । यीमध्ये सिसाघाटको एकादशी मेला देशभरमै प्रख्यात छ । यो मेलामा लमजुङ, कास्की र तनहूँका भक्तजनहरु मेला भर्न आउँछन् । सिसाघाटमा हरिबोधनी एकादशीका दिन बाजागाजाका साथ दर्जनौं फूलका डोली ल्याउने चलन छ । यस बाहेक रामबजारको मादी नदी किनार तथा भोर्लेटार गुम्बा नजिकै पिस्ती दोभानमा फूलको डोली तार्ने गरिन्छ ।
राईनास नगरपालिकाले पनि हरिबोधनी एकादशीका अवसरमा सार्वजनिक विदा दिएको छ । राईनासको हर्राबोट, धमिलीकुवा, चक्रतीर्थ, तीनपिप्ले लगायतका स्थानमा हरिबोधनी एकादशीको मेला लग्ने गर्छ । यस अवसरमा मस्र्याङदी र चेपे नदीमा फूलको डोली लग्ने गरिन्छ ।
हरिबोधिनी एकादशी (तुलसी विवाह) का दिन लमजुङका पवित्र नदीहरु मस्र्याङदी, मादी, पाउँदी, नाउँदी, चेपे किनारमा धार्मिक मेला लाग्ने परम्परा छ । मेला भर्नका लागि जिल्लाभित्र तथा बाहिरबाट हजारौँ दर्शनार्थी आउने गर्छन् ।