बेसीशहर, २४ माघ । लमजुङको पुरानोकोटमा सम्भवत नेपालमै पहिलो २८ पिर्के रोटेपिङ निर्माण भएको छ । बेसीशहर नगरपालिका वडा नं. ४ पुरानोकोटको फोस्रे गाउँमा यस्तो रोटे पिङ बनाइएपछि रोटेपिङ हेर्न र खेल्न जानेहरुको भीड लागेको छ ।
२८६० औँ सोनाम ल्होसारको अवसर पारेर त्यहाँकोे स्थानीय बुद्ध मिलन समाजले यस्तो रोटेपिङ बनाएको हो । यो पिङ बनाउन ४ लाख ७५ हजार रुपैयाँको लागेको समाजले जानकारी दिएको छ । पिङ निर्माणका लागी बेसीशहर नगरपालिकाले १ लाख ५० हजार, बेसीशहर वडा नंं ४ को वडा कार्यालयले २० हजार रुपैयाँ सहयोग गरेका थिए । नपुग रकम स्थानीय समुदाय, स्वदेश तथा विदेशमा रहेका स्थानीय, बिभिन्न संघ संस्था तथा व्यक्तिहरुले सहयोग गरेका स्थानीयले राजकुमार तामाङले बताए ।
मौलिक संस्कृति संरक्षण गर्ने अभियान अन्तर्गत यो पिङ बनाइएको तामाङले बताए । उनले पिङबाट पुरानोकोटको पर्यटन प्रवद्र्धनमासमेत टेवा पुग्ने आशा ब्यक्त गरे । पिङकै माध्यमले त्यस ठाउँको प्रचार प्रसार हुने आशा गाउँलेहरुले गरेका छन् । अहिले फेसबुक, ट्वीटर, इन्स्टाग्राम, युट्युव र टिकटक जस्ता सामाजिक सञ्जालमार्फत उक्त स्थानको प्रचार प्रसार गरी गाउँमा पर्यटक भित्र्याउने लक्ष्य समेत राखिएको बुद्ध मिलन समाजका अध्यक्ष देबमाया तामाङले बताईन् ।
२८ पिर्के रोटेपिङको बुधवार एक कार्यक्रमका विच बेसीशहर नगपालिका प्रमुख गुमान सिहं अर्यालले उद्घाटन गर्दैै परम्परागत रोटेपिङले गाउँघरमा रौनक ल्याउने बताए । उनले संस्कृति संरक्षणमा स्थानीयले खेलेको भूमिकाका प्रशंसा गर्दै यो अनौठो रोटेपिङबाट आन्तरिक पर्यटन प्रर्वद्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले पछिल्लो समय गाउँघरबाट बसाइँ सराइँ बढ्दो रहेको र यसैकारण गाउँघरहरु रित्तिदैं गएका बेला गाउँमा कतै नभेटिने पिङ निर्माण गरिएको भन्दै प्रशंसा गरे ।
रोटेपिङको उद्घाटन कार्यक्रममा लोक स्वर सम्राट राजु परियार, गायिका मिना लामालगायतका कलाकारले उधुम रमाइलो सांगितिक प्रस्तुति दिएका थिए । उद्घाटन कार्यक्रममा बेसीशहर नगरपालिका उपप्रमुख पद्मा गुरुङ, वडा अध्यक्ष गमबहादुर गुरुङ लगायतले मन्तब्य राख्दै संस्कृति जोगाउन स्थानीयले गरेको प्रयासको सरहना गरे ।
गएको बडादशैंमा लमजुङकै मध्यनेपाल ९ बर्धान गाउँमा २४ पिर्के पिङ निर्माण भएको थियो ।
तस्वीर साैजन्यः सुरज गुरूङ