बेसीशहर, कार्तिक २७ गते । लमजुङको मर्स्याङदी गाउँपालिकाको खुदीबजारमा मंगलबारदेखि दोस्रो मर्स्याङदी महोत्सव शुरु भएको छ ।
हरिबोधनी एकादशीको अबसर पारेर आयोजना गरिएको महोत्सव मंसिर १ गतेसम्म चल्ने छ । महोत्सवको मंगलबार मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले एक समारोहबीच उद्घाटन गरे । उदघाटन मन्तब्य राख्दै अध्यक्ष गुरुङले अध्यक्ष गुरुङले स्थानीय बासीन्दालाई मनोरञ्जनका साथै धर्म संस्कृतिको संरक्षण र स्थानीय उत्पाादनको प्रबद्र्धनका लागि ५ दिने महोत्सव आयोजना गरिएको बताए । उनले खुदीबेनीमा आयोजित धार्मिक महोत्सवमा पूजा अर्चना समेत गरेका थिए ।
अध्यक्ष गुरुङले देशका विभिन्न भागमा आयोजना हुने महोत्सवमा स्थानीयको पैसा बाहिरिने गरेकोमा मस्र्याङदी महोत्सव त्यो भन्दा फरक रहेको चर्चा गरे । उनले महोत्सवबाट स्थानीयहरु नै लाभान्वित हुने र महोत्सवलाई कृषि, पर्यटन र खेलकुदसंग जोडिएको जानकारी दिए बताए ।
महोत्सव अन्तर्गत मंगलबार र बुधवार खुदीमा एकादशीको धार्मिक मेला लाग्ने छ । मंगलबार खुदीबेनीस्थित मस्र्याङदी नदीमा भक्तजनको ठूलो भीड लागेको थियो । मस्र्याङदीमा ६ वटा फूलको डोरी तारिएको आयोजकले जनाकारी दिए ।
मंगलबार अमर मावि हातामा विविध सांस्कृतिक कार्यक्रमको आयोजना भयो । कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका सम्झना भण्डारीले माहोल तताएकी थिइन् । महोत्सवका अवसरमा वडास्तरीय भलिवल प्रतियोगिता पनि सञ्चालन भइरहेको छ । यस अवसरमा राष्ट्रिय विभूति भक्ति थापा जन्मस्थनमा निर्माण गरिएको पार्क र डा हर्क गुरुङ समाधिस्थल पार्क अबलोकनका साथै स्थानीय होमस्टेहरुमा विविध प्याकेज राखिएको छ ।
महोत्सव अन्तर्गत कार्तिक २९ गते वडा नं ४ स्थित जगत बजारमा जगत तातोपानी महोत्सव हुने वडा नं. ४ का अध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए । कार्यक्रममा जगत तातोपानी कुण्डमा स्नान, स्थानीय कला संस्कृतिको प्रदर्शनी र स्थानीय उत्पादनहरुको प्रदर्शनी तथा बिक्री वितरणका कार्यक्रम राखिएको छ ।
कार्तिक ३० गते, मिप्राभीर, काप्रे भीरमा महशिकारको कार्यक्रम राखिएको छ । त्यस्तै मंसिर १ गते स्यांगे झरना, बुङ झरना र अक्टोपस झरना अबलोकनसाथै विबिध सांगीतिक कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए ।