राईनास, असोज १४ गते । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री एवं प्रदेश सरकारका प्रवक्ता डा टकराज गुरुङले पढेलेखेका, योग्यता र क्षमता भएका युवाहरुलाई देशभित्रै रोकेर राख्न नसके भोलिको देशको अवस्था अकल्पनीय हुने बताएका छन् ।
लमजुङको राईनास नगरपालिकाको वडा नंं ६ धमिलीकुवामा सोमबारबाट शुरु भएको प्रथम राईनास महोत्सव एवं दशंै मेला २०८१ को उद्घाटन गर्दै डा गुरुङले अहिलेका युवाहरुले मातृभूमि प्रतिको जिम्मेवारी, माया र उत्तरदायित्व भुल्दै गएकाले युवाहरु विदेशिने क्रम बढ्दो रुपमा रहेकोले यस बारे गम्भीर बहस हुनुपर्ने बताए ।
डा. गुरुङले भने–“मुलुकभित्र आज एउटा समस्या छ । मुलुकले जन्माउँछ, हुर्काउँछ, योग्य र क्षमतावान नागरिक बनाउँछ । जब मुलुक निर्माणमा उसको योग्यता र क्षमता मुलुकलाई आवश्यकता पर्छ त्यो जनशक्ति मुलुक छोडेर बाहिरिन्छ । यो परिस्थितिबाट देशको कुनै भुगोल अछुतो छैन । राईनासभित्रको चुनौति पनि यही हो ।
डा. गुरुङले थपे– “हामीलाई हाम्रो थातथलो र भूमिलाई बचाउन नसकिने हो कि भन्ने पिरलो लागेको छ । साँँच्चै भन्ने हो भने पश्चिमा प्रभाव, ग्लोबलाइजेशनको समस्या र प्रविधिले पनि होला, आज हाम्रो शिक्षाले नयाँ पिढीलाई नैतिक शिक्षा पढाउन नसकेको बिषयमा गम्भीर बहस हुनुपर्छ ।”
उनले गाउँघरमा जनसंख्या घट्दो क्रममा रहेको र सुविधा खोज्दै शहर गएर बस्ने परिपाटी बढ्दो रुपमा रहेको भन्दै देशको कुनै पनि भूगोल यसबाट अछुतो नरहेको टिप्पणी गरे । उनले नयाँ पुस्तालाईगाउँघरमा नै बसौं बसौं लाग्ने बनाउन र देश छोडेर बाहिरिनु पर्ने बाध्यताको अन्त्यका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मन्त्री गुरुङले राईनास क्षेत्र र सिंगो लमजुङ कृषि, जलविद्युत र जंगल र पर्यटनको प्रशस्त सम्भावना रहेको भन्दै यसको विकास गरी जिल्लालाई समृद्ध बनाउन सकिने धारणा राखे । उनले यी र अन्य सम्भावनाहरुको खोजी गरी समुचित प्रयोग गर्न सके समृद्धि टाढा नरहेको बताए ।
उनले भूगोलले सानो भए पनि राईनास बिबिधता र सम्भावनाले भरिपूर्ण रहेको राईनास आफ्नो जन्मथलो समेत रहेकाले राईनास क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको चर्चा गरे । उनले राईनासलाई कृषिको उर्वर भूमिको रुपमा परिचय बनाइ स्थानीय उत्पादनलाई बाहिर निर्यात गरेर आम्दानी गर्न सकिने प्रशस्त सम्भावना रहेकोले यसबाटै नयाँ पुस्तालाई गाउँघरमै बसौं बसौं लाग्ने बनाउन र देश छाडेर बाहिरिने बाध्यताका अन्त्य गराउन सकिने बताए ।
राईनास क्षेत्रको कला, संस्कृति, कृषि, पर्यटन र खेलकुदको विकासका लागि र नजिकिँदो बडा दशैंमा राईनासबासीका लागि सुलभ मूल्यमा मालसामनको खरिद र मनोरञ्जन प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव एवं दशैं मेला असोज २४ सम्म चल्नेछ । असोज ११ देखि शुरु हुने भनिएको महोत्सव बर्षाका कारण सोमबारबाट शुरु गरिएको हो ।
हाम्रो पहिचान, कृषि, पर्यटन र खेलकुद राईनासको शान भन्ने नाराका साथ १४ दिनसम्म सञ्चालन हुने दशैं मेलामा विभिन्न प्रकारका सस्ता लत्ता कपडा, जुत्ता, चप्पल, कस्मेटिक तथा अन्य सामग्री, हस्तकलाका सामग्री, अटोमोबाइलका सामग्रीहरु विक्रीका लागि राखिएका छन् । मेलामा हरेक दिन लाइभ दोहोरीका साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति राखिएको छ ।
यसबाहेक मेलामा कृषि प्रदर्शनी, बैंक तथा वित्तिय संस्थाहरुको प्रदर्शनी विभिन्न जातजातिका भेषभूषा तथा परिकारहरु, राइनास नृत्य प्रतियोगिता चिल्ड्रेन पार्क तथा रमाइलो मेला र विभिन्न मनोरञ्जनात्मक खेलहरु आयोजना हुने छन् ।
गौलीटार क्षेत्रीय खेल मैदान समितिको आयोजना, विशशंकर युवा क्लव राईनास ९ को सह आयोजना र राईनास नगरपालिका एवं राईनासका सबै वडाहरुको संरक्षकत्वमा दशैं मेला आयोजना गरिएको हो ।
दशैं मेलाका अवसरमा राईनास ख्यातिप्राप्त लोकदोहोरी कलाकारहरु राजु परियार, पशुपति शर्मा, प्रिति आले, शान्तिश्री परियार, मञ्जु विक, हास्यकलाकारहरु धुर्मुस सुन्तली लगायतका कलाकारहरुले प्रस्तति दिने बताइएको छ ।
महोत्सवमा राईनास आइडल खुला नृत्य प्रतियोगिता, प्रथम राईनास कप भेट्रान्स फुटबल प्रतियोगिता पनि आयोजना गरिएको छ । नृत्यतर्फ प्रथम हुनेलाई नगद २१ हजार, द्वितीय हुनेलाई नगद ११ हजार र तृतीय हुनेलाई नगद ५ हजारका साथमा पदक र प्रमाणपत्र दिइने छ ।